बिहारमा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

सफल खबर संवाददाता

शनिबार, ०२ पुस २०७९, ०८ : २२
बिहारमा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

एजेन्सी । भारतको बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। यिनीहरू घरभित्र लुकेर उपचार गराउँदै आएका थिए। सिभिल सर्जन र अन्य धेरै टोलीले यस क्षेत्रमा घर(घर पुगेर अनुसन्धान गरिरहेका छन्। धेरैको मृत्युको खबरपछि मानिसहरूलाई सावधानी अपनाउन अपील गरिएको छ।

बिहारमा ६ वर्षअघि मदिरा प्रतिबन्धपछि विषाक्त मदिरा खाँदा मानिसको मृत्यु हुने यो सबैभन्दा ठूलो घटना हो। बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले उत्तर प्रदेश र हरियाणाबाट बिहारमा मदिरा आपूर्ति भइरहेको बताएका छन्।

यसैबीच प्रहरीले मदिरा कारोबारीलाई कडाइका साथ कारबाही गरिरहेको दाबी गरेको छ। बिहारको सारणमा नक्कली मदिराका कारण मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले मदिरा बनाउनेलाई निरन्तर कारबाही गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस