मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ मंसिर २०७९, १० : ३६
मिक्सचर मेसिनको ठक्करबाट एक प्राविधिकको मृत्यु

मोरङ । मोरङको लेटाङ नगरपालिका–९ मा संरचना निर्माणमा प्रयोग हुने मिक्सचर मेसिनको ठक्करबाट एक जना प्राविधिकको मृत्यु भएको छ ।

निर्माणाधीन मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ–९ स्थित तेली खोलाको पुल निर्माणमा प्रयोग गरिँदै आएको को।१ ख ४०७७ नम्बरको मिक्सचरले शुक्रबार राति ठक्कर दिँदा सिरहाको लाहान नगरपालिका घर भएका २४ वर्षीय सुनील साहको मृत्यु भएको हो ।

जिल्ला मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक श्रेष्ठका अनुसार पुल निर्माणमा कार्यरत ओभरसियर साहको ठक्करपछि घटनास्थलमा मृत्यु भएको हो । सूर्य एन्ड सन्स कन्सट्रक्सनले निर्माण गरिरहेको पुलमा साह ओभरसियरको जिम्मेवारीमा कार्यरत थिए ।

प्रहरीका अनुसार ट्रकमा जडान गरेर प्रयोग गरिँदै आएको कंक्रिटको मसला बनाउने मिक्सचरले घोला ओसार्ने क्रममा साहलाई ठक्कर दिएको हो । दुर्घटना भएसँगै मिक्सचरका चालक सुनसरी बराहक्षेत्र नगरपालिका कालाबन्जरका ३५ वर्षीय शम्भु राजधामीलाई पक्राउ गरी प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस