नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्धारा अनुगमन

सफल खबर संवाददाता

सोमबार, १९ मंसिर २०७९, १६ : ३८
नारायणी नदी तटबन्धको काम सुरु, मेयर दाहलद्धारा अनुगमन

चितवन । नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघिय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट करिब रु ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म करिब ५ किलोमिटर रु  १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको छ ।

दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म रु ४८ करोडको  ठेक्का सम्झौता भएको छ ।सिसैदेखि बलुवासम्म करिब ५ किलोमिटर रु ३७ करोडको ठेक्का सम्झौता भएको छ ।बलुवादेखि गोलाघाटसम्म रु २६ करोडमा ठेक्का सम्झौता भएको छ ।  पाचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि करिब एक किलोमिटर अगाडि बोलपत्रको काम भई अहिले मूल्याङकनको क्रममा छ । यो प्याकेजको  लागत अनुमान रु २० करोड रहेको छ ।

सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा आयोजनको अनुगमन तथा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे  जानकारी लिएकी थिइन् । तटबन्धनका लागि अहिले केही  स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । भने क्याम्पहरु निर्माण पनि भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म ३ प्रतिशत काम पुरा भइसकेको जानकारी दिए । अबको केही समयपछि आखाँले देखिने गरी तटबन्धनले आकार लिने छ ।

अनुगमनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिदै  भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका धेरै वटा आयोजना सञ्चालन हुँदै  आएपनि नारायणी नदीको तटबन्धनको  कामलाई प्राथामिकतामा राखेको उल्लेख गरिन् । नारायणी र राप्ती नदीको तटबन्धन गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजनालाई प्राथामिकतामा रहेको उनको भनाई थियो । तटबन्धनको काम गर्ने  क्रममा सहजीकरण गर्न महानगरपालिका कुनै पनि समयमा तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस