को बन्ला कांग्रेस संसदीय दलको नेता ?

पत्रपत्रिकाबाट

शुक्रबार, १६ मंसिर २०७९, ०८ : ०६
को बन्ला कांग्रेस संसदीय दलको नेता ?

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दल नेताका लागि पाँच जना आकांक्षी देखिएका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम नआउँदै कांग्रेसभित्र दलको नेता बन्न दौडधुप सुरु भइसकेको छ ।

सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंह तथा नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेताका लागि आकांक्षा राख्दै आइरहेका छन् । सभापति देउवासँग १४औं महाधिवेशमा प्रतिस्पर्धी बनेका डा। शेखर कोइराला भने दलको नेता र आगामी प्रधानमन्त्रीका विषयमा मौन छन् ।

दलको नेताका लागि महामन्त्री थापाले भने भेटघाट तीव्र बनाएका छन् । थापा जसरी पनि यसपटक दलको नेतामा लड्ने मनस्थितिसहित अघि बढेका छन् । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम भने आइसकेको छैन । कांग्रेसले प्रत्यक्षतर्फ ५५ सिटमा जित निकालिसकेको छ भने समानुपातिकतर्फ ३२ सिटको आसपास आउने अवस्था छ । यी दुवै संख्या जोड्दा कांग्रेसबाट संसद्मा ८७ जना सांसद्को प्रतिनिधित्व हुन सक्छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका थिए भने उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट निर्वाचित बनेका हुन् । थापा भने देउवा सभापति बन्दा अर्को समूहबाट महामन्त्री निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभामा काठमाडौं ४ बाट निर्वाचित भएका हुन् ।

‘संसदीय दलको नेताका लागि तयारी अघि बढाइसकेको छु, नेताहरूसँगको भेटघाटमा व्यस्त छु, सभापति र डा। शेखर कोइरालासँग पनि यो विषयमा छलफल गर्दै छु,’ थापाले राजधानीसँग भने । कांग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । संसद्मा ठूलो दल कांग्रेस नै बन्ने र प्रधानमन्त्रीसमेत दाबी गर्न सकिने अवस्था बन्दै गएपछि दलको नेता बन्न दौडधुप बढेको हो ।

देउवासँग थापाबाहेक वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र सिंहले संसदीय दलको नेता बन्ने कसरत जारी राखेका छन् । पौडेल तनहुँ १ बाट र डा। शशांक नवलपुर १ बाट निर्वाचित बनेका हुन् । यसैगरी, सिंह काठमाडौं १ बाट निर्वाचित सांसद हुन् । कांग्रेस राजनीतिको १४औं महाधिवेशदेखिको पृष्ठभूमि हेर्ने हो भने खासगरी संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

१४औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री डा. शशांकले मौन बसेर सभापतिमा देउवालाई सघाएको कांग्रेस वृत्तमा अहिले पनि चर्चा छ । सिंहले भने पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई समर्थन गरेकाले पनि थापाबाहेकका अन्यले दलको नेताका लागि देउवातिरै ढल्किने अवस्था बन्न सक्छ ।

कांग्रेसका अर्का वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले भने थापालाई नै दलको नेता र आगामी प्रधानमन्त्रीका रूपमा अघि बढाउनुपर्ने धारणा राख्दै आइरहेका छन् । उनले निर्वाचनअघि नै थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिसकेका छन् भने दलको नेताका लागि पनि आफैं प्रस्तावक बन्ने अभिव्यक्ति दिइसकेका छन् । राजधान दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस