निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

रासस

आइतबार, २७ कार्तिक २०७९, १४ : १६
निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

काठमाडौं । देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ ।
 
निर्वाचनको प्रचारप्रसारमा तडकभडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । यसअघिका निर्वाचनका तुलनामा यस पटक  आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोस्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ ।

“राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो”, उनले भने, “अहिले  ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मष्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, शहरको सुन्दरता पनि त कायम छ ।”

सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको माहौल बनिरहेको छ । पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो । प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।
 
नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए । उनले भने, “दल र निर्वाचन आयोगबीच छलफल गरेर मितव्ययी बनाउन चुनाव प्रचारप्रसारको प्रक्रिया र शैलीमा आमूल परिवर्तन गरिएको छ । निर्वाचनप्रति जनता परिपक्क, उत्साह र जागरूक छन् । हामीले जे सोचेका थियौँ, त्यही भइरहेको छ, म यसबाट खुसी छु ।”

पहिलाका चुनावमा तुल व्यानरले बजार र गाउँ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो । त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो । यस पटकको  निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन् । आमसभा र घरदैलो समेत यसपटक  १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ ।