जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छु : ओनसरी घर्ती

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, १२ : ३५
जनताका हक र अधिकार कटौती नहुने गरी कानून निर्माण गर्छु : ओनसरी घर्ती

काठमाडौं । नेकपा (माओवादी केन्द्रं) की नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन। आज (बुधबार)काठमाडौं क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले चुनाव जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन। सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् ।

नेतृ घर्तीले चुनावमा जित निकालेपछि जनताको कुनैपनि हक, अधिकारको कटौती नहुने गरी कानून निर्माण गर्ने प्रतिवद्धता जनाइन्। उनले विजयपछि जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पुर्याउने, खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्ने प्रतिवद्धता जनाइन । आम नागरिकहरुले दिएको माया र स्वागतले भोलिका दिनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो कर्तव्य बढेको महशुस भएको उनले बताइन्

प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाइन। उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पुर्याउने बताइन । चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् ।

प्रतिक्रिया दिनुहोस