गठबन्धनका कारण चुनाव जित्ने ओनसरीकाे दावी

सफल खबर संवाददाता

सोमबार, २१ कार्तिक २०७९, १३ : २१
गठबन्धनका कारण चुनाव जित्ने ओनसरीकाे दावी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ पूर्वसभामुख ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न चुनावमा जित सुनिश्चित भएको बताएकी छन । आज सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा उनले गठबन्धनका कारण जित सुनिश्चित भएको र प्रक्रिया पूरा गर्नका लागि मात्रै मंसिर ४ गते कुर्नुपरेको बताइन् । उनको टिमले सोमबार काठमाडौं क्षेत्र नम्बर २ को कोटेश्वर क्षेत्रमा मतदाताहरुसँग भेटघाट गरिन् । उनले आफू नागरिक माझ काम गर्नसक्ने प्रतिवद्धता मात्रै लिएर उपस्थित भएको बताइन् ।

काठमाडौं चुनावी क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी घर्तीले वाम गठबन्धन बोलेको गर्ने र सक्ने मात्रै बोल्ने बताइन। उनले अहिले आसन्न चुनावका लागि घरदैलो कार्यक्रममा सहभागी भइरहेको र घरदैलो कार्यक्रममा आम नागरिकले उत्साहपूर्वक आफूप्रति रुचि देखाएको बताइन् । उनले कार्यकर्ता र आम नागरिकले अग्रिम शुभकामदा दिइसकेको भन्दै पार्टीको चुनावी एजेण्डामा आम नागरिकहरुबाट राम्रा प्रतिक्रिया आइरहेको पनि बताइन्।

पछिल्लो समय चुनावको मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानमा सक्रिय छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस