एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः केपी ओली

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १३ : २९
एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्छः केपी ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।बुधवार काठमाडौँ-१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउनु नहुने बताए । उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गरे । उनले गठबन्धन सरकार सर्वोच्च अदालतको परमादेशबाट बनेको भन्दै जालीकीर्ते गरेर बनाइएको सरकारले निरन्तरता पाउनु नहुने बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने हो भने संसद र निर्वाचनको अर्थ के हो? भन्दै प्रश्नसमेत गरे । अध्यक्ष ओलीले परमादेश जारी गरेसँगै अदालतको अवस्था बेहाल भएको बताए ।

‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ ।’ उनले भने, ‘फेरि कथम कदाचित यिनै मान्छेहरु, यिनीहरु अहिले जनताले छानेका होइनन्, संसदले छानेको होइन, यी परमादेश लिएरु जाली कीर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली,कीर्तेहरुले जित्ने हो नि । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसदको कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसदको के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसदको के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिन यता अदालत बेहाल अवस्थामा छ ।’