ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, २० : ०२
ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

ललितपुर । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै डा. कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् । आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो ।

त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो । मेडिकल काउन्सिलले ललितपुर–३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीविरुद्ध परेको उजुरीमा मासिक पारिश्रमिक नबुझेपनि बैठक भत्ता, भ्रमण भत्ता लिने गरेकी र सार्वजनिक पद धारण गरेको मानेर हरेक वर्ष सम्पत्ति विवरण बुझाउने गरेको जानकारी गराएको थियो ।

काउन्सिलले जवाफपत्र र वहाल रहेको तोसिमा कार्कीको स्पष्टीकरणको आधारमा आयोगको बैठकले उम्मेदवारी खारेजीको निर्णय गरेको हो । डा. कार्कीले १ लाख १५ हजारभन्दा बढी बैठक भत्ता बुझेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस