कांग्रेसको घोषणापत्र यथार्थपरक छः स्वर्णिम वाग्ले

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १४ : ३२
कांग्रेसको घोषणापत्र यथार्थपरक छः स्वर्णिम वाग्ले

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन्। आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र रहेको बताए।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको उनको भनाइ छ। वाग्लेले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि उल्लेख गरे।

घोषाणापत्रमा डिजिटलाइजेशन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारहरु समावेश गरेको डा. वाग्ले बताए।

उनले भने,‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपाली असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ। वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ। दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ। स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ।’

नेता वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रुपमा ५ वटा विषयहरु समावेश गरेको बताए। जसमा आायत, वाह्य असन्तुलनको विषय, कर्जा र तरलता, मुद्रास्फितिको विषयहरु रहेका छन्। मुद्रास्फितिको विषय आगामी सरकार बनेको ६ महिनाभित्रमा समाधान हुने डा. वाग्लको भनाइ छ।

उनले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरुका लागि डिजिटलाइजेशनको विषय तत्काल आर्थिक एजेण्डाका रुपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए।

प्रतिक्रिया दिनुहोस