जनताको सेवामा निरन्तर लाग्छु : ओनसरी घर्ती

सफल खबर संवाददाता

सोमबार, ०७ कार्तिक २०७९, १५ : ५७
जनताको सेवामा निरन्तर लाग्छु : ओनसरी घर्ती

काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्तीले आफू निरन्तर जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्।

सोमबार शंखरापुर नगरपालिकाले तिहार लगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा उनले आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकीर गर्दै सो सन्देश स्थानीय जनतामा पु¥याउन गठबन्धनका नेता, कार्यकर्तालाई निर्देशन समेत दिइन्।

पूर्वसभामुख समेत रहनु भएका घर्तीले भनिन्, ‘धेरैले यो क्षेत्र छोडेर जाने हो कि भनेर प्रश्न गरेका छन । मेरो हैसियतले अब भन्ने कुरा के रहन्छ भने मैले यो प्रश्नको जवाफ धेरै पटक दिएको छु–तपाईँसँगै रहन्छु। र, भोलीको मेरो प्रतिवद्धता यहाँकै जनताको सेवामा रहन्छु भन्ने भईंसकेपछि तपाईहरु आम जनताको बीचमा गएर अव तपाईँहरुले यो सन्देश प्रवाह गर्न पार्टीको तर्फबाट, मेरो तर्फबाट अनुरोध मात्रै होइन, अव त निर्देशन हुन्छ म भन्न चाहन्छु।’

घर्तीले काठमाडौं क्षेत्र नेम्बर २ का स्थानीय जनप्रतिनिधिहरुले निर्वाचनमा गरेको प्रतिवद्धता पूरा गराउन पनि आफूले केन्द्रसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गराउन केन्द्रमा पहुँच पु¥याउन आफू समक्ष रहेको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस