ईश्वर पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ

सफल खबर संवाददाता

शनिबार, ०५ कार्तिक २०७९, २० : ४३
ईश्वर पोखरेलको चुनावी अभियानमा राष्ट्रिय खेलाडीहरूको साथ

काठमाडौं । ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् ।

काठमाडौंको महाराजगञ्जमा शनिवार आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित १०० जनाभन्दा बढी खेलाडीहरूले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन् । 

‘खेलाडीहरूसँग ईश्वर पोखरेल’ नामक कार्यक्रममा खेलाडीहरूले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका हुन् । 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले सँधै खेलाडीहरूको साथमा रहेको बताए । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको शुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को टोखा र बूढानीलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बिमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गरे । 

एमालेको चुनावी अभियानमा साथ दिँदै ‘नेपाली माइकल ज्याक्सन’को नाममा परिचित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस