वर्षाबाट भएको क्षतिबारे तत्काल रिपोर्ट गर्न गृहमन्त्री खाँणको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २६ असोज २०७९, २१ : ००
वर्षाबाट भएको क्षतिबारे तत्काल रिपोर्ट गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य संकलन गरी तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले यस्तो निर्देशन गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रस्तुत गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार गृहमन्त्री खाँणले बिहीवार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रस्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिएको बताए ।

उनले भने, ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा, बाँके, बर्दिया र दाङमा बाढी पहिरोका कारण भएको क्षतिबारे छलफल भयो । बाढी, पहिरोबाट क्षति पुगेको स्थानमा राहत उपलब्ध गराउन विपद् व्यवस्थापनले के गर्नुपर्छ भन्ने विषयमा छलफल भयो । केही जिल्लामा ठूलो क्षति भएको छ । त्यसलाई सम्बोधन गर्न सम्भवतः भोलि नै हाम्रो टिम त्यता जानेछ । त्यो टिमले जे देख्छ त्यो विषयको रिपोर्ट पेस गर्नेछ ।’

उनले फेरि भने, ‘तुरुन्त पेस गर्नु भन्ने मान्य मन्त्रीजीको निर्देशन छ । त्यो रिपोर्टपछि हामी त्यसलाई तुरुन्त सम्बोधन गर्नेछौँ । दीर्घकालीन प्रकृतिका विषयमा हामी सोच्नेछौँ । तत्काल राहत लैजानुपर्ने विषयमा पनि छलफल भएको छ । केही राहत लगिसकिएको पनि छ । अपुग ठाउँमा लैजाने कुरा भएको छ । निर्वाचनका बेलामा पनि विपद् आउनसक्छन् र कसरी व्यवस्थापन गर्ने ? निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको छ ।’

प्रवक्ता पोखरेलले आसन्न निर्वाचनमा पनि आउनसक्ने विपद्को सम्भाव्यता अध्ययन गर्न र त्यसको लागि उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँदलीरहीत बनाउने बारेमा सबै सुरक्षा निकायसँग छलफल गरेको बताए । उनले निर्वाचन सुरक्षित गर्न श्रोत, साधनको कमी भए व्यवस्थापनका लागि अर्थमन्त्रालय, निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक सामग्री परिपूर्ति गर्न निर्देशन दिएका बताए ।

उनले भने, ‘आसन्न निर्वाचन अब ३९ दिन मात्रै बाँकी छ, त्यसलाई कसरी निष्पक्ष, स्वतन्त्र र धाँदलीरहीत बनाउने ? भन्ने सन्दर्भमा सबै सुरक्षा निकायबीच विभिन्न कुराहरु आए । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा आएको छ । सबै सुरक्षा निकाय आफ्नो नियमअनुसार परिचालित हुनेछ ।’

उनले थप भने, ‘उपलब्ध श्रोत, साधन केही कमी भए त्यसको व्यवस्थापन गर्ने, अर्थमन्त्रालय, निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक सामग्री परिपूर्ति गरी सुरक्षालाई चुस्त र दुरुस्त बनाउने बारेमा छलफल भयो । निर्वाचनमा आचारसंहीताको पूर्णरुपमा पालना गर्न सबै सुरक्षा निकायलाई मन्त्रीज्युले निर्देशन दिनुभएको छ ।’

प्रवक्ता पोखरेलले निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस