सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २.३ मा सीमित : आईएमएफ

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, २१ : ३७
सन् २०२३ मा विश्वको आर्थिक वृद्धि २.३ मा सीमित : आईएमएफ

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ को विश्वको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। मंगलबार आईएमएफले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ अन्तर्गत विश्वको आर्थिक वृद्धि सन् २०२१ को तुलनामा ६१ प्रतिशतले कमी आउने र जम्मा २.३ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो। 

आईएमएफका अनुसार सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ६ प्रतिशत रहेको थियो भने सन् २०२२ मा ३.२ प्रतिशतमा झर्ने अनुमान गरेको छ। विश्वभरका केन्द्रीय बैंकहरुले अपनाएको संकुचनकारी मौद्रिक नीति, रुस-युक्रेन युद्ध, जलवायु परिवर्तनलगायतका विभिन्‍न कारणले विश्वको आर्थिक वृद्धिमा कमी आउने कोषले दाबी गरेको छ। 

आईएमएफका प्रमुख अर्थशास्त्री पेरे ओलिभिर गौरीन्चासले विश्वभरका देशहरुको सरकारले बनाएको रणनीति र मौद्रिक नीतिको तालमेल मिल्न नसक्दा आर्थिक वृद्धिमा दबाब पर्ने बताए। 

उनले भने, 'हरेक देशका सरकारले स्टिमुलस प्याकेजसहितको बजेट सार्वजनिक गर्ने तर केन्द्रीय बैंकले भने संकुचनकारी मौद्रिक नीति जारी गर्दा त्यसको तालमेल नमिल्दा आर्थिक वृद्धिमा दबाब सिर्जना भएको हो।' उनले अहिलेको अवस्थमा हरेक सरकारले स्टीमुलस प्याकेजलाई शुन्यमा झारेर केन्द्रीय बैंकको संकुचनकारी मौद्रिक नीतिलाई सपोर्ट गर्नुपर्ने बताए। 

आइएमफले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२३ मा सबैभन्दा बढी आर्थिक वृद्धि गर्नेमा भारत रहेको छ। सो वर्ष भारतले ६.१ प्रतिशतको आर्थिक वृद्धि गर्ने जनाएको छ। तर सन् २०२२ को तुलनामा सो अंक पनि कम नै भएको प्रमुख अर्थशास्त्री गौरीन्चासले प्रेस ट्रष्ट अफ इन्डियाले गरेको प्रश्नको उत्तरका क्रममा भने। 

उनले भारतले पनि मूल्यवृद्धि नियन्त्रणका लागि संकुचनकारी मौद्रिक नीति ल्याएका कारण भारतको अर्थतन्त्र दबाबमा पर्ने देखिएको जानकारी दिए। २०२१ मा भारतको आर्थिक वृद्धि ८.७, सन् २०२२ मा ६.८ र सन् २०२३ मा ६.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण रहेको छ। 

त्यस्तै आइमएफको प्रक्षेपण अनुसार सन् २०२३ मा सबैभन्दा कम आर्थिक वृद्धि हुनेमा रुस रहेको छ। सो देशको सन् २०२३ मा आर्थिक वृद्धि २.३ प्रतिशतले नकारात्मक हुने आइएमएफको दाबी रहेको छ। त्यस्तै सन् २०२२ मा रुसको आर्थिक वृद्धि ३.४ ले नकारात्मक हुने पनि आइएमएफले जनाएको छ। 

आइएमएफका अनुसार समृद्धि अर्थव्यवस्था भएको भनिएको जर्मनी र इटाली आर्थिक वृद्धि सन् २०२३ मा नकारात्मक हुनेछ। उनीहरुको क्रमशः ०.३ र ०.२ प्रतिशतले नकारात्मक हुने आइएमएफले जनाएको छ। त्यस्तै सन् २०२३ मा नै बेलायतको ०.३, फ्रान्सको ०.७, युरो जोनको ०.५, स्पेन १.२, जापान १.६, क्यानडा १.५, अमेरिका १.१ र अन्य विकसित देशको २.३ प्रतिशतले आथिृक वृद्धि हुने आइएमएफको प्रक्षेपण छ। 

त्यस्तै इमर्जिङ इकोनोमीको रुपमा रहेको चाइनाको आर्थिक वृद्धि ४.४ प्रतिशतमा सीमित रहने छ भने विकासशील एसियाली देशहरुको ४.९ प्रतिशत आर्थिक वृद्धि हुने देखाएको छ। त्यस्तै नेपालजस्तो निम्‍न आय भएको विकासशील देशको भने सन् २०२३ मा ४.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने आइएमएफले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस