सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही १ मा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, २३ असोज २०७९, १० : १०
सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही १ मा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए । 

आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।  स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए । 

नेता भुसालले चुनाव चिन्ह भने तय भईनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएनन् । 

नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए । पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले  उल्लेख गरे । पटक पटक संसदलाई प्रहार गरे संविधान उल्ट्याउन आलीले प्रयास गरेको भन्दै संविधानको रक्षाको लागि हालसम्म आफूले प्रयास गरेको उनले बताए । ओलीको कार्यशैली गलत भएका कारण एमाले लोकतन्त्रीक पार्टी बन्न नसकेको उनको भनाई छ । नेता भुसालले आज मनोनयन दर्ता गराउने बताए । 

प्रतिक्रिया दिनुहोस