बाँध फुटेर नारायणी नदी बस्तीमा पस्यो, ५० घर डुबानमा

सफल खबर संवाददाता

शुक्रबार, २१ असोज २०७९, १२ : २९
बाँध फुटेर नारायणी नदी बस्तीमा पस्यो, ५० घर डुबानमा

नवलपरासी ।  लगातारको वर्षापछि नारायणी नदीको बहाव उच्च भएपछि बाढी सुस्ता गाउँपालिकाको ५ नम्बर सुस्ता बस्तीमा पसेको छ ।गण्डक बाँध अन्तर्गतको ठोक्कर नम्बर १ को बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । उक्त बाँध स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेका छन् ।

नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको जानकारी दिए ।

३ तर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय सीमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस