पाँचौ पल्ट नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

सफल खबर संवाददाता

शनिबार, ०१ असोज २०७९, १६ : ४८
पाँचौ पल्ट नेपाल फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

काठमाडौं । भारतमाथिको ऐतिहासिक जितपछि काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जितसहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ ।

काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश ग¥यो । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा बलियो टोली भारतको चुनौती १–० ले पार गर्दा नेपालले उपाधि भिडन्तका लागि बंगलादेशसँग भिड्नु पर्ने समिकरण बनेको छ ।

बंगलादेशले पहिलो पटक सेमिफाइनलमा पुगेको भूटानमाथि ८–० को फराकिलो जित निकाल्दा अन्तिम दुईमा स्थान बनाउँदा छैठौं संस्करणको उपाधि नयाँ टोलीले उचाल्ने निश्चित भएको छ । यस अघि सम्पन्न सबै संस्करणमा भारतले उपाधि उचालेको थियो । सोमबार हुने प्रतिस्पर्धाबाट विजयी टोलीले साफ महिला फुटबलमा नयाँ इतिहास रच्ने निश्चित भएको हो ।

बंगलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गर्दा नेपाल भने पाँचौ पटक फाइनल प्रवेश गरेको हो । २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा भने उपविजेतामा सिमित हुँदै आएको छ । सोमबार हुने फाइनल खेलबाट नेपाली टोली घरेलु भूमिमा आयोजना हुन लागेको प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस