सिलवालको लाङ्टाङ कथा

शनिबार, ०२ असार २०७५, ११ : २७
सिलवालको लाङ्टाङ कथा

काठमाडौं । भूकम्पलगत्तै, बीच र पछिल्लो अवधिको लाङ्टाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङ्टाङ जर्नीः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षक कार्यक्रम सम्पन्न भएको छ ।

लाङ्टाङ सद्भावनादूत अशोक सिलवालको आयोजनामा सम्पन्न सो कार्यक्रममा सिलवालले आफू निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङ्टाङ अपडेटः वेकिङ एण्ड वाकिङ’ (लाङ्टाङ अद्यावधिकः बिउँझदै र हिँड्दै) शीर्षकका दुई वृत्तचित्र प्रदर्शन गर्नाका साथै भूकम्पपछि पटक पटक लाङ्टाङ जाँदाको र मार्मिक अनुभव सुनाए । ती वृत्तचित्रमा सिलवालले आफूसँगै लाङ्टाङ फर्किंदै गरेका स्थानीयवासीको कथा तथा भूकम्पपछि लाङ्टाङ यात्रा गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको कथा समेटेका छन् ।

“मृत्युबाट जीवनमा फर्केको लाङ्टाङको लयलाई कार्यक्रममार्फत देखाउने मेरो प्रयास हो । भूकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरु थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ”, सिलवालले भने । भूकम्पले पूरै बगाएको लाङ्टाङ अहिले पुरानै स्वरुपमा आउनाका साथै बढी सुविधासम्पन्न भएको छ । पहिले बिजुली बत्ती थिएन, अहिले क्याञ्जिङमा उत्पादित बिजुलीले क्याञ्जिङ, सिन्धुम, मुन्डु, लाङ्टाङ गाउँ र गुम्बा डाँडा उज्यालिएको छ । क्याञ्जिङमा वाइफाइ सेवा पहिलो पटक शुरु भएको छ । “भूकम्पमा श्रीमान् गुमाएकी एक स्थानीयववासीले श्रीमती गुमाएको अर्को पुरुषसँग विवाह गरेर मृत्यपछि पनि नयाँ व्यवस्थित जीवन शुरु गरेको भेटें”, उनले भने ।

विसं २०७२ वैशाख १२ को भूकम्प र लगत्तैको हिमपहिरोपछि मानवविहीन पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङ्टाङमा पैदलै पुग्ने सिलवाल पहिलो पत्रकार हुन् । पथप्रदर्शक एवं प्रशिक्षक सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिका माध्यमबाट भूकम्पपछिको लाङ्टाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान पु¥याएका थिए ।

लाङ्टाङ क्षेत्रको पर्यटकीय पुनःस्थापनाका लागि अभियानकै रुपमा लागिरहँदा उनलाई समग्र लाङ्टाङवासीका तर्फबाट लाङ्टाङ मेनेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कमिटीले लाङ्टाङ सद्भावनादूतको उपाधिसहित सम्मान गरिसकेको छ । लाङ्टाङ क्षेत्रको पुनःस्थापनामा विशेष योगदान पु¥याएवापत टे«किङ एजेञ्सिज् एशोसिएशन अफ नेपाल (टान) र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले पनि उनलाई पुरस्कृत गरेका छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कवि नवराज लम्साल, चिन्तक डम्बर खतिवडा, निट–नेपालका अध्यक्ष दीपक महत, स्थानीयवासी तेम्बा लामा आदिले सिलवालको लाङ्टाङ उत्खनन् र त्यसको प्रवद्र्धन गरेकामा प्रशंसा गरे । -रासस

कार्यक्रममा लाङ्टाङ सद्भावना दूत सिलवालले पहिलो पटक आफूसँगै लाङ्टाङ गएका जनार्दन खतिवडा र बलराम न्यौपानेलाई सहयात्री सम्मान गरे भने पहिलो पटक लाङ्टाङ यात्राको आयोजना गर्ने निट–नेपाल, अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथुन प्रतियोगिता गर्दै आएको टान र भूकम्पलगत्तै गठित लाङ्टाङ मेनेजमेन्ट एण्ड रिकन्स्ट्रक्सन कमिटीका प्रतिनिधिलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस