सत्ता टिकाउन घृणित कामहरू भए, चुच्चे नक्का पनि गायब पारियो : ईश्वर पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २४ भदौ २०७९, ११ : १०
सत्ता टिकाउन घृणित कामहरू भए, चुच्चे नक्का पनि गायब पारियो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब गरेको भन्दै आपत्ति जनाएका छन् । आज काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताए ।

उनले अहिलेको गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाए । उनले गठबन्धन सरकारले संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको भन्दै खेद प्रकट गरे ।

उनले अहिलेको नागरिकता विधेयक राष्ट्रिय हित, स्वाभिमान विपरीत रहेको उल्लेख गर्दै नेपाललाई सिक्किम वा फिजी बनाउने कुरामा सरकारले काम गरिरहेको बताए । उनले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरू गरिरहेको भन्दै निन्दा र भत्सर्ना गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरे । उनले राष्ट्रिय विकास र समृद्धिको योजनमा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । उनले नक्कली कुरा गरेर सत्ता स्वार्थमा डुब्न नचाहने पनि बताए ।

उनले रणनीतिक महत्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको भन्ने प्रश्न गरे । उनले चुच्चे नक्सा मेटाइ अपराधपूर्ण काम गर्ने कोही व्यक्तिलाई पनि स्वीकार गर्न नसकिने बताए । मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक विकास र समृद्धि हुन नसक्ने उनले बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताका हकहित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस