काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।
कम्युनिष्टहरुबीच मोर्चाबन्दी गरेर अघि नबढ्ने हो भने आगामी ३/४ वर्षभित्रै मुलुकमा ठूलो राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिष्टहरुले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो।
आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले अहिले देखापरेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरुभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए।
मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने वामपन्थीहरुबीच एकता गरेर अघि बढनुपर्ने उनले दोहोर्याए। नेता भुसालले तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायतका नेताहरुले दुनियाँसामू नेपालको बेइज्जत गरेको आरोप लगाए। उनले एउटै मञ्चमा रहेका प्रचण्डलाई क्रमभंग गरेर भए पनि कम्युनिष्टहरुबीच एकता गर्न ढिलाई नगर्न आग्रह गरे।
नेता भुसालले भने, ‘अस्ती संसद विघटन भए पनि नेपालको राजनीतिमा कमरेड प्रचण्डलाई मैले यो सम्झिनुस् है भन्न खोजेको हो। यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताप्रति वितृष्णा, राज्यप्रतिको घृणा। यो चानेचुने कुरा छैन। कमरेड प्रचण्ड र अरु नेताहरु, हामी सबै यसलाई कसरी रोक्ने हो? यदि हामीले त्यो एकता नभत्काएको भए संसद विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जति नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो। अर्थनीति बन्दै थियो। यो चुनावभन्दा अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपर्थ्यो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ भदौ २०७९, १९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वको बहिर्गमन नै नयाँ निकासको आधार विन्दु: घनश्याम भुसाल
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ