अब बिजुलीको व्यापारमा हामीले घाटा सहनुपर्दैन : कुलमान घिसिङ

सफल खबर संवाददाता

आइतबार, १२ भदौ २०७९, १६ : ५२
अब बिजुलीको व्यापारमा हामीले घाटा सहनुपर्दैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेको छ । ऊर्जा मन्त्रालयमा आोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए ।

‘अब बिजुलीको व्यापारमा हामीले घाटा सहनुपर्दैन,’ उनले भने,’यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौं, त्यो भन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौं ।’उनका अनुसार कात्तिकसम्म नै भारतमा बिजुली निर्यात हुनेछ । त्यसपछि आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुनेछ ।

अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट  १२ भारतीय रुपैयाँसम्ममा बिजुली बिक्री भइरहेको र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताए ।‘बिजुली निर्यातको यो वर्षको आँकडाले हाम्रो ‘माइन्डसेट’ नै चेन्ज गरिदिएको छ,’ उनी भन्छन्,’वर्षायाममा जसरी राम्रो मूल्यमा भारतमा बिजुली बेचिरहेका छौं, यसलाई बढाउनपर्छ, त्यसका लागि वषर्ाको पानी अधिकतम् सदुपयोग हुने गरी आयोजनाहरु डिजाइन गर्नुपर्छ ।’

त्यसकै आधारमा विद्युत आयोजनाको डिजाइनमा ‘क्यू ४०’को साटो ‘क्यू २५’को नीति लिन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस