रुपन्देहीमा थपिए १५ हजारभन्दा बढी मतदाता

सफल खबर संवाददाता

शनिबार, ११ भदौ २०७९, १३ : २५
रुपन्देहीमा थपिए १५ हजारभन्दा बढी मतदाता

रुपन्देही । रुपन्देहीमा डेढ महिनामा १५ हजारभन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नामावली दर्ता खुलेसँगै मतदाता जागरुक भएका हुन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि खुला गरेको मतदाता नामावली दर्ता र अध्यावधिकबाट रुपन्देहीमा मात्रै १५ हजार एक सय २२ जना थपिएका छन् ।

स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका तीन लाख २३ हजार सात सय ७८ पुरुष, तीन लाख आठ हजार पाँच सय ७४ महिला र आठ जना तेश्रो लिङ्गी गरी रुपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनपछि सात हजार आठ सय ९४ पुरुष, सात हजार दुई सय २८ महिलाले नाम दर्ता गराएको थिए, जसअनुसार ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रुपन्देहीको छ ।

देशव्यापी रुपमा निर्वाचन कार्यालय, प्रशासन कार्यालयहरूबाट मतदाता नामावली दर्ता हुँदै आएको थियो । मतदानबाट बञ्चित हुने डरले नागरिक उत्साहका साथ नामावली दर्ता गराएका छन् । असार महिनादेखि सुरुआत भएको नामदर्ता १९ साउनसम्म चलेको थियो । यो समयावधिमा एक हजार ७७ जनाले  वाह्य जिल्लाबाट पनि रुपन्देहीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

‘हामीले कार्यालयबाट, जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय मझगावा र इलाका प्रशासन कार्यालय बुटवलबाट दर्ता गरिरहेको थियौ । अधिकांश नयाँ दर्ता र केही त्रुटि सच्याउने, ठाउँसारीका नाम दर्ताका लागि आएका हुन् । यसका साथै वाह्य जिल्लाका पनि केहीले यहीबाट नाम दर्ता गराएको निर्वाचन कार्यालय प्रमुख अयोध्या भण्डारीले बताए । 

छोटो अवधिमै उत्साह जनक रुपमा मताधिकार प्रयोग गर्न नागरिकहरु निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा नाम दर्ता गराउन आएको  निर्वाचन अधिकारी भण्डारीले भने ।

कार्यालय प्रमुख भण्डारीका अनुसार पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा ११ लाख १८ हजार ९ सय ७५ देखिए पनि त्यसको ६०–६५ प्रतिशत मतदाता हुनुपर्छ भन्ने सर्वमान्य सिद्धान्त छ, त्यसैलाई अङ्गीकार गर्दै निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।

मतदाता नामावली अद्यावधिक एवं दावी विरोधको कार्यक्रम १२ देखि १९ भदौ सम्म रहनेछ । मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाता, विवरण हटाउने एवम् त्रुटीहरू सच्याउनुपर्ने मतदाता यस अवधिमा आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर त्रुटिहरु सच्याउन सक्नेछन् । ३ मंसिर २०७९ सम्ममा मतदाननयोग्य १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समावेश गरी तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिनेछ ।  उनीहरू नै मतदान गर्न योग्य रहने छन् । १६ वर्ष उमेर पूरा भएकोले नामावली दर्ता गराउन पाउँछन् । 

१६ पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले ४ मंसिर हुने निर्वाचनको लागि जिल्लामा मतदान स्थल दुईसय आठ वटामा सात सय १७ मतदान केन्द्र हुने अनुमान छ । रुपन्देहीका आठवटा मतदानस्थललाई परिवर्तन गरि अन्यत्र सार्न सिफारिस गरिएको छ । समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको संख्यालाई आधार मानेर तय हुन्छ ।

प्रतिक्रिया दिनुहोस