भिजिट भिषामा जाने र दुवईमा अलपत्र पर्ने क्रम बढ्दो

प्रकाश सिग्देल

शुक्रबार, ०३ भदौ २०७९, १५ : ५१
भिजिट भिषामा जाने र दुवईमा अलपत्र पर्ने क्रम बढ्दो

चितवन । कामको खोजीमा भौतारिएका नेपाली युवा युवतीहरु घुमफिर गर्ने नाममा भिजिट भिषामा दुवई जाने र त्यही अलपत्र पर्ने क्रम बढ्दै जान थालेको छ । श्रम स्वीकृति लिएर दुवई पुग्ने भन्दा पनि श्रम स्वीकृति बिनै भिजिट भिषामा गएर काम गर्नेहरुको संख्या बढ्न थालेको दुवईमा कार्यरत नेपालीहरु बताउछन् ।

दुवईमा २ लाख भन्दा बढी नेपाली हरु श्रम गरिरहेका छन् । भिजिट भिषामा जाने र पैसा हुनेले त्यहीका एजेन्टमार्फत चर्को रकम तिरेर भिषा चेन्ज गर्ने गरेका छन् । भिषा चेन्ज गर्न नसक्नेले काम नपाउने र पाएपनि भिषामा समय थप गर्न समस्या हुदा गैरकानुनी रुपमा बस्नु पर्ने बाध्यता भोगेका छन् ।  अहिले करिव ५ देखी ८ हजार बढि नेपाली त्यहा अलपत्र परेको नेपाल पत्रकार महासंघ दुवईका सचिव मोहन बस्यालले बताए ।  भिषाको समयवधि सकिएपछि थप गर्न हजारौ रुपैया खर्च गर्नुपर्ने र काम गरेको ठाउँमा पारिश्रमिक समेत नपाउने अवस्था अहिले नेपालीहरुले भोगिरहेका छन् । हरेक दिनजसो दर्जन बढि नेपाली दुवई सरकारलाई लाखौ रुपैया जरिवाना तिर्दै नेपाल फकर्ने गरेको सार्जा बिमान स्थलमा कार्यरत नेपालीहरु बताउँछन् । पछिल्लो समय नेपालीहरु दुवईमा कुलतमा फस्ने र जेल बस्नेहरुको संख्या पनि बढ्न थालेको छ ।


भिजिट भिषामा एजेन्ट मार्फत जाने र एजेन्टले त्यहा काम नदिदा अलपत्र परेर दुवई सरकारलाई जरिवाना तिरेर नेपाल फकर्नेहरुको संख्या निकै बढ्दै जान थालेको छ । श्रम स्वीकृति लिएर आउनेहरुमा कामको समस्या नभएपनि भिजिट भिषामा आउनेहरुमा निकै ठुलो समस्या देखिएको दुवइमा होटल ब्यवसाय गरिरहेका नेपाली हरिषचन्द्र गौलीले बताए । कति नेपालिलाई निशुल्क रुपमा खाना समेत खुवाएर उद्धार गरी देश पठाएको दुवईमा कार्यरत नेपाली ब्यवसायीहरु बताउँछन्।

दुर्वईको वड दुवई आसपासको ठाउँमा नेपालीहरुले होटल, सुनचादी पसल सञ्चालन गरेर बसेका छन् । दुवईमा अलपत्र पर्ने अधिकांस नेपालीहरु त्यही क्षेत्रमा गएर आश्रय माग्ने गरेको नेपाली ब्यवसायीहरुले बताए ।

दुवईको कानुन नबुझी एजेन्टको प्रलोभनमा परि आउनाले दिनानु दिन सयौ नेपालीले दुख पाउने गरेका छन् । चर्को गर्मीमा जोखिमयुत्त ठाउँमा काम गर्नु पर्ने बाध्यता पनि उत्तिकै रहेको बताईन्छ । राज्यले भिजिट भिषामा खाडी मुलुक जान रोक लगाएपनि नेपालीहरु दुवई, लगाएतका अन्य खाडी मुलुकमा जाने क्रम झन बढेको दुवईमा ब्यवसाय गरेका नेपालीहरु बताउछन् । युएइमा नेपाली दुताबास रहेपनि दुताबासले आवस्यक समन्वय गर्न नसेको नेपाली श्रमिकहरुको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस