नागरिकता विधेयकमा सरकारले गरेको काम अलोकतान्त्रिक :ओली

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १४ : ४२
नागरिकता विधेयकमा सरकारले गरेको काम अलोकतान्त्रिक :ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयबाट संसदमा फिर्ता आएको नागरिकता विधेयकबारे संसदमै छलफल नगरी जस्ताको त्यस्तै फिर्ता गर्ने सरकारको कसरत अलोकतान्त्रिक भएको बताएका छन्।

विभिन्न कार्यक्रमहरूमा सहभागी हुन गृहजिल्ला झापा आउने क्रममा भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा सरकारले कुनै चासो नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले अहिलेको सरकारलाई देशप्रति कुनै चिन्ता नभएकाले नागरिकता विधेयकमाथि सरकारले संसदमा कुनै छलफल नगराएको बताए। एमाले अध्यक्ष ओलीले राष्ट्रपति कार्यालयबाट फिर्ता आएको विधेयकमाथि संसदमा पुनः छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए। सरकारले जे गरिरहेको छ, त्यो गतिविधि लोकतन्त्रमा सोच्नै नसकिने उनको भनाइ थियो।

२०७४ सालको निर्वाचनजस्तै झापामा यसपटक राप्रपासँग चुनावी तालमेलबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा एमाले कोहीसँग पनि गठबन्धन बनाउने पक्षमा नरहेको ओलीले बताए। तर, स्थानीय स्तरमा आवश्यकताका आधारमा तालमेलको सम्भावना भने रहने उनले बताए।