भरतपुर महानगरपालिकाले गर्यो आर्थिक वर्ष ०७८/०७९ को समिक्षा

' सेवा प्रवाह सुस्त भएकोमा महानगर प्रमुख दाहालको असन्तुष्टी '

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १२ : २८
भरतपुर महानगरपालिकाले गर्यो आर्थिक वर्ष ०७८/०७९ को समिक्षा

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८ /०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ । महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो ।

महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ । 

भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ । महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा ५ वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ७ हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको थियो ।

महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाईको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ ।  गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ ।

योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।

वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएकोमा असन्तुष्टी व्यक्त गरिन्। मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन दिइन् । ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उनले भनिन् ,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’

मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिइन्। समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिएका थिए । वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस