भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

रासस

बुधबार, ०१ भदौ २०७९, १३ : २२
भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय

चितवन । भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ । 

महानगरको ११औँ नगरसभाले भरतपुर महानगरपालिका–१ का अध्यक्ष केशब महर्जनको संयोजकत्वमा लेखा समिति गठन गरेको थियो । समितिका सदस्य सचिव महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पुरानो बेरुजु धेरै छ । नगरपालिका स्थापनादेखि हालसम्म आइपुग्दा बेरुजु रु एक अर्ब भन्दामाथि छ । 

पछिल्लो पटक जनप्रतिनिधि आएपछि पाँच वर्ष यताको बेरुजु भने रु १२ करोड हाराहारी मात्र छ । सो रकममध्ये धेरै नियमित गर्ने बेरुजु रहेको बताउँछन । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु ६ महानगरमध्ये सबैभन्दा कम थियो । अर्यालयका अनुसार भरतपुरको ० दशमलव ५६ प्रतिशत बेरुजु थियो भने बढी हुने विराटनगरको १६ दशमलब ५७ प्रतिशत रहेको थियो । महानगरले हाल भएको बेरुजुको अध्ययन गर्ने र नियमित प्रकृतिको बेरुजुलाई फछर्यौट गर्ने गरी तयारी गरेको छ ।  

समितिले तयार पारेको बेरुजुको फछर्यौट गर्न कार्यापालिका बैठकमा पेस गर्ने गरी आफ्ना कामलाई अगाडि बढाएको उनले जानकारी दिए । नगरसभाले निर्णयगरेको बेरुजु महालेखा परीक्षकको कार्यालयबाट खटिएको टोलीले पुनःअवलोकन गरी फछर्यौट गर्दछ । लेखा समितिले महानगरभित्र निर्माणधीन सडक पूर्वाधार, तटबन्ध र मोज्याक टायल विच्छयाएको स्थानको अनुगमन गरी महानगरलाई सुझाव बुझाउने काम अघि बढाएको छ । लेखा समितिको क्रियाशीलताले बेरुजुमा कमी आउने, पारदर्शीता कायम हुने र आर्थिक सुशासनमा वृद्धि हुने सचिव अर्यालले बताए ।

अर्यालले बेरुजु तत्काल फछर्यौट गर्ने परिपाटीको विकासकै कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना, उपभोक्ता समितिलाई पेश्की दिन कार्यमा कडाई र बेरुजु फछर्यौटमा विशेष जोड दिएकाले अन्य महानगरपालिकाको तुलनामा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ छ । कम भएको बेरुजुलाई पनि फछर्यौट गर्नुपर्ने भन्दै महानगरपालिकाले क्रियाशीलता बढाएको हो । 

महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शीतामा महानगर अग्रणी रहेको भन्दै बेरुजु फछर्यौट गर्न समितिले काम गरेको बताउए । उनले भने, “जवाफदेहीता, पारदर्शीता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको उनी बताउम्छन ।  
 

प्रतिक्रिया दिनुहोस