सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैंन् : गगन थापा

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, ११ : ३५
सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैंन् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे ।

उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा भनेको सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए । महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने बताए । उनले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम नगरे स्वास्थ्य बीमा थेग्न नसक्ने बताए । महामन्त्री थापाले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको समेत बताए । उनले स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने बताए ।

उनले भने, ‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ । हामी बीमा बीमा भनिरहेका छौँ । सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्याउँछ कसरी रु हामीसँग पैसा कति छ रु हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ । सरकारले खाली कतिवटा अस्पताल बनाउने भन्ने कुरा मात्रै टिप्यो र अस्पतालको शिलान्यास भयो । हामीले हेल्थ सिस्टमलाई नै अस्पतालमा लगेर जोडेका छौँ । त्यसबाट बाहिर निस्किनुपर्छ । नभए हामी गलत बाटोमा जान्छौँ ।’ 

 

प्रतिक्रिया दिनुहोस