धनुषामा थपिए १२ हजार मतदाता

सफल खबर संवाददाता

विहीबार, २६ साउन २०७९, ०८ : २२
धनुषामा थपिए १२ हजार मतदाता

जनकपुरधाम । धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।

स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा ६ हजार ९ सय ९८ पुरुष र ५ हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए। जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन्।

मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु भइरहेको र आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने राउतको भनाइ छ।

आयोगले धनुषामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय र यदुकाहास्थित इलाका प्रहरी कार्यालयबाट मतदाता नामावली सङ्कलन गरेको थियो। गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा धनुषामा चार लाख ६७ हजार तीन सय ८८ मतदाता थिए। 

प्रतिक्रिया दिनुहोस