नवलपरासी । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।
यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उनले बताए ।
“अहिलेसम्म मतदान गरिएको थिएन, त्यसैले पहिलाको निर्वाचनमा खास चासो पनि राखिँदैन थियो”, उनले भने, “यसपालि आफैँले मतदान गर्न पाउने भएकाले धेरै कुराहरूमा चासो हुने र विषयहरू बुझ्न मन लाग्ने भएको छ ।” जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।
पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भने, “हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।” बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भने, “हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।”
पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ । कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम
महोत्तरीमा थपिए ३४ हजार भन्दा धेरै मतदाता
खोटाङमा एक लाख ४७ हजार मतदाता कायम
नवलपुरमा थपिए नौ हजार मतदाता
डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए