रुसले युक्रेनमाथि लगायो आणविक आतंकवादको आरोप

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १४ : ०४
रुसले युक्रेनमाथि लगायो आणविक आतंकवादको आरोप

काठमाडौं  । रुसको रक्षा मन्त्रालयले जापोरिझझियामा रहेको आणविक भट्टीमा युक्रेनको ४४औं आर्टिलरी ब्रिगेडबाट आक्रमण भएको दाबी गरेको छ । काखोभा रिजर्भोआरको विपरीत दिशामा रहेको मार्गानेट्स गाउँबाट उक्त आक्रमण गरिएको उसको दाबी छ ।

सोमवार उक्त आक्रमण हुँदा आगो लागेको थियो र विद्युत् आपूर्ति समेत अवरुद्ध भएको थियो । त्यसको विनाशकारी परिणाम युरोपले भोग्नुपर्ने हुन सक्ने रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले बताए । यो आणविक आतंकवाद भएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आणविक भट्टीमा गरिएको आक्रमण युरोपका लागि आत्मघाती हुने बताए । आणविक निरीक्षकहरूले भट्टीमा छिट्टै पहुँच पाउने आशा पनि उनले गरे । 

भट्टीको भ्रमण गर्नका लागि राष्ट्रसंघलाई दिइएको निम्तो उसले अस्वीकार गरेको दाबी गत साता रुसले गरेको थियो । युक्रेनले चाहिँ उक्त भट्टीमा रुसले आक्रमण गरेको बताएको छ । तर आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा रुसले आक्रमण गर्नुपर्ने कुनै कारण छैन ।

प्रतिक्रिया दिनुहोस