चुनावमा गठबन्धन गर्ने हो भने समान ढंगले सिट बाँडफाँट हुनुपर्छ : झलनाथ खनाल

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १२ : ५६
चुनावमा गठबन्धन गर्ने हो भने समान ढंगले सिट बाँडफाँट हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं  ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।  

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन् । उनले गठबन्धनमा अहिले दलहरू थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्ने बताए । 

सम्मानित नेता खनालले प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकोले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर आगामी प्रदेश र संघको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रूपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए । 

नेता खनालले वाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि वृहत वाम एकताको सम्भावना नरहेको दाबी गरे । ‘गठबन्धनमा दलहरू जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ । २०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा ऊ तालमेलमा आउँदैन,’ खनालले भने, ‘सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ । वाम एकताको लागि सबैभन्दा ठूलो पार्टीले पहल गर्नुपर्ने हो, उसमा त्यो रुची मैले देखिनँ । वृहत वाम एकताको सम्भावना अहिले छैन ।’  

उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण महत्वपूर्ण भ्रमण रहेको पनि बताए । उनले चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए । नेता खनालले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताइवान, तिब्बत चीनकै भएको दाबी गरे । उनले यी क्षेत्रमा जुनकुनै बेलामा पनि चीनले दाबी गर्नसक्ने बताए ।  

‘चीनका केही कोर इन्ट्रेसका कुराहरु छन् । चीनले सबै देशसँग हाम्रा कोर इन्ट्रेसलाई ध्यान दिनुस्, त्यसका आधारमा हामी मैत्रीपूर्ण सम्बन्ध र सहयोग राख्छौँ भन्ने कुरा गर्दै आएको छ । ऐतिहासिक रुपमा पनि हङकङ चीनको अभिन्न अंग हो । ब्रिटिसले लिएको थियो फर्काइसक्यो । ताइवान त अभिन्न अंग नै थियो । त्यहाँ शासककाबिरुद्ध क्रान्ति भएपछि भागेर त्यहाँ बसेका मात्रै हुन्,’ खनालले भने, ‘त्यसैले चीनले जुनसुकै बेलामा पनि त्यो क्षेत्र दाबी गर्ने कुरा आन्तरिक हो । तिब्बत पनि चीनको अभिन्न अंग हो । हाम्रो देशका सबै पार्टी र सरकार यी सबै ठाउँहरु चीनका अभिन्न अंग हुन् भन्नेमा छ । नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्रबिरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ । परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरू हासिल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस