इरानले गर्‍यो चीनको समर्थन, अमेरिकाको निन्दा

एजेन्सी

आइतबार, २२ साउन २०७९, १३ : ००
इरानले गर्‍यो चीनको समर्थन, अमेरिकाको निन्दा

एजेन्सी । ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहायनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ताका क्रममा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेकोमा जोड दिए।

उनले इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा भएको वार्ताको उल्लेख गरे। उनले सम्झौतामा पुग्न अमेरिकाको यथार्थपरक प्रतिक्रियाको आवश्यकतामा जोड दिए। साथै, चीनले देशको भौगोलिक अखण्डताका सम्बन्धमा इरानको अडानको प्रशंसा गर्दै विश्व समुदायको ठूलो हिस्साले चीनको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्नुपर्नेमा जोड दिएको छ।

चिनियाँ विदेशमन्त्रीले दुई देशको हितअनुसार द्विपक्षीय सम्बन्ध विकास गर्ने कुरामा जोड दिए । साथै, यसले अन्तर्राष्ट्रिय क्षेत्रमा एकपक्षीयतालाई अस्वीकार गर्दै विकासशील देशहरूको हितलाई समर्थन गर्ने कुरामा जोड दिएको छ।

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भनेको छ। चीनले अमेरिकाले चीनको एक चीन नीतिको उल्लंघन गरेको बताएको छ । चीनले आफ्नो एक चीन नीतिको समर्थनमा सयभन्दा बढी देश अगाडि आएको दाबी गरेको छ ।

यसबाहेक इरानी विदेशमन्त्रीले हालै दुई देशका राष्ट्रपतिबीच भएको टेलिफोन वार्तालाई उपयोगी र ठोस भएको बताए । उनले द्विपक्षीय सम्झौताको पालना र कार्यान्वयन गर्न इरान र चिनियाँ अधिकारीहरूको संयुक्त प्रयासमा जोड दिए।

दुवै पक्षले आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने र नाकाबन्दी हटाउने वार्तालगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय हितका विषयमा छलफल गरेका थिए।