काठमाडौं । अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि सैन्य तनाव उत्पन्न भएको छ । बिहीबार दुवै देशले एकअर्कामाथि आक्रमण गरेको पुष्टि गरेका छन् । यद्यपि, इरानले अवस्था सामान्य भइसकेको जनाएको छ भने अमेरिकाले थप तनाव नचाहेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको दाबी गरेका छन् । तर उनले सामाजिक सञ्जालमार्फत इरानले अमेरिकासँग सम्झौता नगरे थप सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिका अझै इरानसँग वार्तामा रहेको बताए ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी नौसेनाका मिसाइल विनाशक जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै गल्फ अफ ओमानतर्फ गइरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि इरानभित्र हवाई आक्रमण गरिएको हो । इरानले फेब्रुअरी अन्त्यदेखि जारी अमेरिका–इजरायल युद्धपछि विश्व तेल आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ होर्मुज अवरुद्ध गर्दै आएको छ ।
उता इरानको संयुक्त सैन्य कमाण्डले भने अमेरिकाले युद्धविराम उल्लंघन गर्दै इरानी तेल ट्यांकर र अर्को जहाजलाई निशाना बनाएको आरोप लगाएको छ । साथै, क़ेश्म टापु र बन्दर खामिर सिरिक आसपासका तटीय क्षेत्रमा हवाई आक्रमण गरिएको इरानको दाबी छ ।
इरानी सेनाले त्यसको जवाफस्वरूप स्ट्रेट अफ होर्मुजको पूर्वी भाग तथा चाबहार बन्दरगाह दक्षिणतर्फ रहेका अमेरिकी सैन्य जहाजहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । खाताम अल-अनबिया सेन्ट्रल मुख्यालयका प्रवक्ताले उक्त आक्रमणबाट क्षति पुगेको दाबी गरेका छन् ।
तर, अमेरिकी सेनाले भने इरानबाट आएका सबै आक्रमणहरू अवरुद्ध गरिएको र कुनै पनि अमेरिकी सैन्य सम्पत्तिमा क्षति नपुगेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने