कैलालीमा विद्यार्थी भर्नाको तथ्यांक आउनै ढिलाइ

सफल खबर संवाददाता

विहीबार, १९ साउन २०७९, १२ : १२
कैलालीमा विद्यार्थी भर्नाको तथ्यांक आउनै ढिलाइ

धनगढी । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पूरा भइसक्दा कैलालीमा भर्ना भएका विद्यार्थीको संख्या भने आउन सकेको छैन । विद्यालयहरूले भर्ना भएका विद्यार्थीको तथ्यांक समयमै अपडेट नगर्दा तथ्यांक आउन ढिलाइ भएको हो ।

शिक्षा मन्त्रालयले १५ साउनभित्रै भर्ना भएका विद्यार्थीको तथ्यांक मन्त्रालयको वेबसाइट (आइएमइएस) मा राख्न निर्देशन गरे पनि कैलालीका अधिकांश सामुदायिक तथा निजी विद्यालयले सो साइडमा भर्ना भएका विद्यार्थीको तथ्यांक राखेका छैनन् ।

विद्यालयहरूले भर्ना भएको विद्यार्थीको तथ्यांक नै साइडमा अपलोड नगरेपछि जिल्लामा हालसम्म कति विद्यार्थी भर्ना भएका छन्, कति विद्यार्थी भर्ना हुन बाँकी छन् भन्ने तथ्यांक आउन नसकेको जिल्ला शिक्षा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले बताए ।

‘यसको नियमन गर्ने र विद्यालयलाई जिम्मेवार बनोन अधिकार स्थानीय तहलाई छ,’ उनले भने, ‘तर के कति कारणले हो १५ साउनसम्म धेरै विद्यालयले भर्ना भएका विद्यार्थीको तथ्यांक (आइएमइएस) प्रणालीमा राखेका छैनन् ।’

विद्यालयले भर्नाभएका विद्यार्थीको तथ्यांक साइटमा राखेपछि सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीको छात्रवृत्तिलगायत अन्य सुविधान उपलब्ध हुने उनले बताए । स्थानीय तहका पदाधिकारीले भने यस वर्ष ढिलो शैक्षिक सत्र सुरु भएकाले भर्ना भएका विद्यार्थीको तथ्यांक आउन ढिलाइ भएको दाबी गरेका छन् । धनगढी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख तथा उपसचिव नरेन्द्रबहादुर खातीका अनुसार धेरै विद्यालयमा इन्टरनेटको समस्याका कारण पनि तथ्यांक आउन ढिलाइ भएको छ ।

नगरभित्र ७३ सामुदायिक विद्यालय र सोही हाराहारीमा निजी विद्यालय रहेकोमा बुधबारसम्म ९७ विद्यालयले विद्यार्थीको तथ्यांक (आइएमइएस) प्रणालीमा राखेको उनले बताए । ‘अन्य विद्यालयले पनि तथ्यांक राख्दैछौं भन्ने जानकरी दिएका छन्,’ उपसचिव खातीले भने, ‘तर इन्टरनेटको समस्या र केही विद्यार्थीको यकिन विवरण नआउँदा ढिलाइ भएको भन्ने खबर आएको छ, अब केही दिनमै सबै विद्यालयको तथ्यांक आउन सक्छ ।’

सरकारी तथा सामुदायिक विद्यालयले सरकारी सेवाका लागि पनि अनिवार्य (आइएमइएस) प्रणालीमा विद्यार्थीको तथ्यांक राख्ने गरे पनि कतिपय निजी शैक्षिक संस्थाले भने तथ्यांक नै नराख्ने गरेको उनले बताए । ‘यसपटक निजी शैक्षिक संस्थालाई पनि अनिवार्य तथ्यांक राख्न भनेका छौं,’ उपसचिव खातीले भने, ‘केही निजी शैक्षिक संस्थाले साइटमा तथ्यांक राखिसकेकाे छ भने केही संस्थाले तथ्यांक साइटमा राख्ने तयारी भइरहेको प्रतिक्रिया दिएका छन् ।’

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव वसन्त खत्रीले १५ साउनसम्म धेरै विद्यालयले विद्यार्थी भर्नाको तथ्यांक (आइएमइएस) साइटमा राखेको बताए । तर ४-५ विद्यालयले भने १५ साउनभित्र सो तथ्यांक साइटमा नराखेको उनले बताए । ‘अहिले मन्त्रालयले साइट बन्द गरेको छ,’ खत्रीले भने, ‘साइट बन्द हुँदा बाँकी विद्यालयले भर्ना भएका विद्यार्थीको संख्या राख्न सकेका छैनन् ।’

लम्कीचुहा नगरपालिकास्थित शिक्षा शाखाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको तथ्यांक साइटमा राख्ने गरे पनि निजी शैक्षिक संस्थामा समस्या रहेको बताए । ‘तथ्यांक उपलब्ध नगराई सरकारी सेवा नपाउने भएका कारण सामुदायिक विद्यालयले अनिवार्य विद्यार्थी भर्नाको तथ्यांक वेबसाइटमा राख्ने गरेका छन्,’ उनले भने, ‘तर संस्थागत विद्यालयले सरकारी सेवा नपाउने भएका कारण उनीहरूले विद्यार्थीको संख्या राख्न खासै चासो राख्ने गरेका छैनन्, यसपटक सबैलाई तथ्यांक साइटमा राख्न भनेका छौं ।’ १५ साउनसम्म लम्कीचुहाका ५-६ वटा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको तथ्यांक नराखेको उनले बताए ।

धनगढीस्थित लिटल फ्लावर सेकेन्ड्र इंग्लिस स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले भने (आइएमइएस) प्रणालीमा निजी विद्यालयले पनि विद्यार्थी भर्नाको तथ्यांक राख्ने गरेको बताए । विद्यार्थीको पूरा विवरण संकलन गर्न समय लाग्ने भएका कारण यस वर्ष धेरै विद्यालयले सो प्रणालीमा भर्नाको संख्या उपलब्ध गराउन सकेका छैनन्,’ उनले भने, ‘तर विद्यार्थी संख्या दिन संस्थागत विद्यालयलाई समस्या हुँदैन, बन्द गरिएको साइट खुलेपछि सबैले तथ्यांक राख्ने छन् ।’

संघीय शिक्षा मन्त्रालयले चालू यस वर्ष गैरसरकारी संस्थालाई विद्यालय बाहिर रहेका बालबालिका पहिचान गर्न लगाउने र भर्ना भएका विद्यार्थीको संख्या विद्यालयले १५ साउनसम्म साइटमा राख्नुपर्ने प्रावधान गरेको थियो । 

जसमा ‘स्थानीयस्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरूलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्ने उल्लेख छ ।

त्यसैगरी अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाहरूको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरुको उचित पहिचान र सम्मान गर्ने तथा अभिलेख राख्ने व्यवस्था गर्ने, आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरूलाई विद्यालय बाहिर रहेका बालबालिकाहरूको लगत संकलन, भर्नाको समय,स्थान र प्रक्रिया बारे प्रचार प्रसार, सञ्चार र समन्वय आदिमा परिचालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले भर्ना अभियानका कारण विद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने, आफ्नो क्षेत्रभित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालय भर्ना गराई भर्ना सकिएलगत्तै विद्यालयबाहिर बालबालिका नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । तर कैलालीमा हालसम्म विद्यालय बाहिर रहेका विद्यार्थीको तथ्यांकसमेत आएको छैन ।

प्रतिक्रिया दिनुहोस