२० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैनः कुलमान घिसिङ

सफल खबर संवाददाता

आइतबार, १५ साउन २०७९, १६ : ०८
२० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैनः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारे। निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने बताए।

उनले पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको बताए। निर्देशन घिसिङले प्रशारण लाइनको लागत कम गर्नुपर्ने बताए। उनले विद्युतको मूल्य भारतमा राम्रो पाएकाले यो वर्ष विद्युत प्राधिकरणले करिब १६ अर्ब रुपैयाँ विद्युत निर्यातबाट कमाउने बताए। गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो।

उनले भने,‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेका छौँ। विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौँ। यो वर्ष प्राधिकरणले करिब १६ अर्बभन्दा बढीको विद्युत निर्यात गर्छौँ। विद्युतको लागि जुन जोखिम लिएका थियौँ, अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने कुरा हुँदैन।’

कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताए। उनले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमतामा विद्युत दिएको दाबी गरे।

निर्देशक घिसिङले उद्योगहरुमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे। उनले प्राधिकरण उद्योगहरुले मागेजति विद्युत दिन तयार रहेको भन्दै प्राधिकरणले अहिले ट्रान्समिसन र सव–इस्टेसनमा लगानी बढाएको बताए।

प्रतिक्रिया दिनुहोस