उत्तर काेरियाले दियाे अमेरिकालाई आणविक आक्रमणको चेतावनी

एजेन्सी

विहीबार, १२ साउन २०७९, १५ : २८
उत्तर काेरियाले दियाे अमेरिकालाई आणविक आक्रमणको चेतावनी

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन्।

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पुर्‍याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिव्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो।

सन् १९५०-५३ को कोरियाली युद्धको अन्त्य भएको ६९ औँ वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ।

किमले आफ्ना विरोधी राष्ट्रहरूलाई आणविक हतियारको धम्की दिए पनि अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन्।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था, कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार किमले बुधबारको सम्बोधनमा भने, ‘हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक, ठ्याक्कै र छिटो आफ्नो आवश्यकता अनुसार जुटाउन तयार छ।’

नेता किमले अमेरिकाले आफ्नो वैरभावपूर्ण नीतिलाई सफाइ दिन उत्तर कोरियालाई ‘प्रेतीकरण’ गरेको आरोप लगाए।‘उत्तर कोरियालाई लक्षित गर्ने अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासले अमेरिकाको ‘दोहोरो मापदण्ड’ देखाएको र यसले उत्तर कोरियाको नियमित सैन्य गतिविधिलाई ‘ब्रान्डिङ’ गरेको छ। यो उसको क्षेप्यास्त्र परीक्षणको स्पष्ट सन्दर्भ हो। उत्तर कोरियाले यसलाई उत्तेजना वा धम्कीको रूपमा व्याख्या गरेको छ’,उनले भने।

किमले राष्ट्रपति योन सुक योलको दक्षिण कोरियाको नयाँ सरकारको नेतृत्वले मुठभेड चाहेको बताए। नयाँ नेतृत्वलाई उनले दक्षिण कोरियाकाे परम्परावादी सरकारको निरन्तरता बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस