कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १५ : ०९
कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी थापालाई दिइएको जनाएको हो ।

२१ भदौदेखि ३ असोजसम्म नेपालमै हुने महिला च्याम्पियनसिपका लागि थापा प्रशिक्षकमा नियुक्त भएका हुन् । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली एपिएफ फुटबल क्लब सम्हालेका थिए । 

त्यस्तै, टोलीको व्यवस्थापकामा महिला संघका पूर्वअध्यक्ष वृन्दा देवानलाई नियुक्त गरिएको छ ।एन्फाले च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ । एन्फाका सबै  उपाध्यक्ष र कार्यसमिति सदस्य आयोजक समितिको सदस्य रहने छन् । 

यस्तै, प्रतियोगिताको भेन्यु म्यानेजरमा रवीन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र सुरक्षा प्रमुखमा दिनेश ब्याञ्जनकार तोकिएका छन् । 

सञ्जीव सिलपकारले क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजन गर्नेछन् ।प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहनेछ ।  नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको साफमा घरेलु टोली नेपाललाई हरउँदै भारतले उपाधि जितेको थियो । 

प्रतिक्रिया दिनुहोस