विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, १६ : ३४
विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई प्रधानमन्त्रीको निर्देशन

‌काठमाडाैँ  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्। ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सरोकारवालाहरूबीच समन्वय कायम गरी विकास, निर्माणका काम गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन्। 

उनले जनताको आवश्यकताअनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले उनीहरू थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यकतासमेत औंल्याए। 

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतका पूर्वाधार विकासको आवश्यकता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरले आफ्नो पेशालाई अझ व्यावसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वाससमेत व्यक्त गरे। 

‘राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न र जनताका आवश्यकतालाई चाँडै सम्बोधन गर्न राज्यको परिकल्पनाअनुसार विकास, निर्माणका लागि अग्रणी भूमिका निर्वाह गर्ने इन्जिनियरहरू नै हुन्। सुविधासम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरूको योगदान अतुलनीय हुन्छ। समयको गतिसँगै यस पेशालाई थप व्यावसायिक र विशिष्ट बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति हुने गरी विकास गर्दै जानुपर्ने खाँचो छ‚’ उनले भने। 

उनले विकास, निर्माणमा इन्जिनियरहरूलाई कुनै समस्या भए ती समस्या तत्काल समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस