हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह गरेका छन् । बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उनको गुनासो थियो । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना फेरि अन्योलमा परेको छ । स्थानीयवासीका समस्याप्रति आयोजना र सङ्घीय सरकार उदासीन रहेका कारण मेलम्चीको भविष्य अन्योलमा परेको अध्यक्ष शेर्पाको आरोप थियो ।
पछिल्लो समय गत असार र साउनमा आएको भीषण बाढीले बाटोघाटो पुलपुलेसा सबै बगाएपछि अवरुद्ध भएको आयोजनामा गाउँपालिकाकै सक्रियता र सहयोगमा सञ्चालन भएको थियो । मेलम्चीको पानी काठमाडौँ पठाउने क्रममा गत चैत २९ गते उक्त गाउँपालिकाले स्थानीयवासीको समस्या समेटेर खानेपानीमन्त्री उमाकान्त चौधरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ११ बुँदे ध्यानाकर्षण पत्र पठाएको थियो ।
हेलम्बुका समस्याबारे जानकार हुँदाहुँदै र पटक/पटक स्थानीय जनसरोकारका विषयमा अवगत गराउँदा पनि नेपाल सरकारको आव ०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा समेत आयोजनाका विषयमा एक शब्द पनि नबोलिनु दुःखद भएको गाउँपालिका अध्यक्ष शेर्पाले गुनासो गरे। उनले आयोजनामा अप्ठ्यारो पर्दा स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरेर केन्द्र सरकारलाई सहयोग गरे पनि आफूहरूको समस्या समाधानमा भने चासो नदेखाएको उनको गुनासो थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १६ : ०५
लेखकबाट थप