बलात्कारको आरोपमा प्रहरी जवानसहित ४ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, २० : २०
बलात्कारको आरोपमा प्रहरी जवानसहित ४ जना पक्राउ

धनगढी । कञ्चनपुरमा सामूहिक बलात्कार आरोपमा एक प्रहरी जवान सहित चार युवक पक्राउ परेका छन्।

शुक्रबार पुनर्वासमा सशस्त्र प्रहरी जवान सहित ४ युवकलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा पुनर्वास ९ ख गाउँ बस्ने शुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र विओपी बीचफाँटामा कार्यरत सशस्त्रका जवान यमप्रसाद ज‌ैशी रहेका छन्।

उनीहरुले यहीँ असार २३ गते राति एक २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोप लागेको छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुशील बिष्टले ती युवतीलाई विवाह गर्ने प्रलोभनमा पारेर उखुबारीमा बोलाएका र त्यसपछि उनका अन्य साथीहरु पनि आएर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बताएकी छन्।

सुशील र ती युवतीको प्रेम सम्बन्ध पनि रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए। आरोपितहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस