एसपीपी पास नहुँदा प्रधामन्त्री देउवाको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १९ : १३
एसपीपी पास नहुँदा प्रधामन्त्री देउवाको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) रद्द गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् ।

उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए । उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।

उनले भने, ‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ । व्याख्यात्मकसँग जोड्यौँ । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुन थाल्यो । एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन ?’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताए । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिर भन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गरे । उनले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस