मह नबिकेपछी चितवनका किसान चिन्तामा, ८० देखी १०० टन मह संचित

प्रकाश सिग्देल

शुक्रबार, ३१ असार २०७९, १६ : ०२
मह नबिकेपछी चितवनका किसान चिन्तामा, ८० देखी १०० टन मह संचित

चितवन । मह बेचेरै वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानि गर्दै आएका खैरहनी नगरपालिका ४ चैनपुरका सुनिल बस्नेत यस पटक मह बिक्री नभएर चिन्तित छन् । डाबर नेपाल र पतञ्जलीलाई मह बेच्ने गरेका उनले यस पटक मह नबिकेपछि ठुलो क्षती भोग्नु परेको बताए । महको  प्रतिकिलो ७०० बजार मुल्य रहेको भएपनि मह भने नबिकेको किसान बताउँछन् ।

यहाँ उत्पादित महको मुख्य बजार काठमाण्डौँ नै हो । नेपाल मौरीपालक महासंघका निर्वतमान अध्यक्ष एवं मौरी जोन सञ्चालक समितिका संयोजक रामप्रसाद पौडेलले चितवनमा ८० देखी १०० टन मह संचित रहेको बताए । नक्कली महको बिगबिगिका कारण नेपालमा उत्पादित महको बिक्री हुन छाडेको हो । ‘भारत र चाइनाबाट मह भित्रिन थालेपछि नेपाली महले बजार नपाएको उनले दुखेसो गरे । काठमाडौंमा यसअघि चिनी प्रयोग गरेको मह समातियो त्यसको असर नेपालको गुणस्तरिय महमा परेको उनले बताए ।

तोरी, चिउरी, फापर, मसला, जामुन, सिसौँ चिलाउने, कटुश, मियल, पैयुँ र रुदिलो मह उत्पादनका स्रोत हुन् । चितवनमा महको उत्पादन बढाउँन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मौरी जोन सञ्चालन गरेको छ । जोन अन्त्रगत ७ हजार घार रहेका छन् ।  

चितवनमा २६८ टन उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । किसानले उत्पादन गरेको महको गुणस्तरियताको बाण्ड्रिङ गर्नुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख धनबहादुर थापा ले बताए  । कृषकहरुले लेबलिङ नगरेका कारणले अहिले कहाँको मह हो भन्ने विषयमा उपभोत्ताहरुमा अन्योलत छ । क्यूआर कोर्ड सहितको बाण्ड्रिङमा सहयोग गर्ने गरी आफुहरुले काम गरेको थापा बताउँछन् । यसले गुणस्तरिय महको बिक्री हुन सहज हुने अपेक्षा गरिएको छ । महको खपत बढाउँनका लागि मेला महोत्सव लगायतका स्थानमा प्रर्वद्धन समेत परियोजनाले गरेको छ ।  

प्रतिक्रिया दिनुहोस