भरतपुर महानगरले दियो उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृति

सफल खबर संवाददाता

शुक्रबार, ३१ असार २०७९, १४ : ३३
भरतपुर महानगरले दियो उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई १० हजार छात्रवृति

चितवन । भरतपुर महानगरपालिकाले वार्षिक कार्यक्रम अनुसार प्राविधिक उच्च शिक्षा स्नातक र स्नाकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ ।

शुक्रबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा चेक विद्यार्थी एवम् अभिभावकलाई हस्तान्तरण गरेका हुन । छात्रवृति कार्यक्रममा छनोट भएका छात्रछात्राहरुले एक वर्षको लागि १० हजार रुपैयाँ पाएका छन् ।

महानगरले छात्रवृति पाउन पाँच वटा सीमा निर्धारण गरेको थियो । छात्रवृत्ति पाउन अपाङगता, लोपोन्मुख, अतिसिमान्तकृत, दलित तथा सहिद परिवारका विद्यार्थी हुनुपर्ने प्रवाधान थियो ।

यस अन्तरगत नगर विकास योजनाको आर्थिक वर्ष ०७८÷०७९ स्वीकृत वार्षिक कार्यक्रममा भरतपुर महानगरपालिकाभित्र स्थाई बसोबास गर्ने ८ जना विद्यार्थी छनोट भई छात्रवृति पाएका छन् ।

महानगरले प्रमाणपत्र तहमा ६ सय ९२ जना विद्यार्थीहरुलाई छात्रवृति दिदै आइरहेको भएपनि यस वर्षदेखि उच्च शिक्षा अध्धयन गर्ने विद्यार्थीलाई लक्ष्ति गरी यो कार्यक्रम लागू गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन।

भरतपुरको शिक्षा विकासलाई थप अगाडि बढाउन उच्च शिक्षा पढ्ने विद्यार्थीलाई प्रोत्सहान गर्न यो कार्यक्रम लागू गरिएको मेयर दाहालको भनाई छ । यो कार्यक्रम आगमी वर्ष पनि निरन्तरता पाउने मेयर दाहालले जानकारी दिइन ।  

महानगरपालिकाले यो छात्रवृति ५० जनालाई दिने व्यवस्था गरेपनि ८ जनाले मात्रै छनोट भएका छन् । यो पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई छात्रवृतिबारे जानकारी नभएको हुन सक्ने भरतपुर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

यस वर्ष छनोट भएकाले वर्षेनी नियमति क्याम्पसमा अध्ययन गरी रहेको कागजात बुझाएर छात्रवृति नविकरण गर्नु पर्ने प्रमुख पौडेलले जानकारी दिए ।महानगरले आगामी वर्ष ५० जनालाई छात्रवृति दिने गरी कार्यविधि संशोधन गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस