काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उत्साहका साथ भारत जान लागेको बताएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका छन् । भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण सद्भावना भ्रमण भएको बताए । साथै उनले भ्रमण आकस्मिक नभएको समेत दाबी गरे ।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण सकेर फर्किनु र आफू भारत जानुमा कुनै साइनो नभएको समेत बताएका छन् ।
नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको र उनी सचिव भएपछि आफूलाई फोन गर्दा जुलाई दोस्रो वा तेस्रो हप्ता उपयुक्त समय हुनसक्छ भनेको भन्दै प्रचण्डले भने, ‘त्यही अनुसार यो भ्रमण हुन लागेको हो । आकस्मिक होइन ।’
भारतीय प्रधानमन्त्री लगायतका सरकारी अधिकारीहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको भन्दै उनले व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण लगायतका एजेण्डा उठाउने बताए ।
कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेको भन्दै प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको बताउँदै प्रचण्डले भने, ‘छिट्टै मेरो चीन भ्रमण पनि हुन्छ, उहाँ(लिउ)ले तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड