फोटोफिचर

सिद्धबाबाको पहिरोले यात्रुलाई सास्ती (हेर्नुहोस् १४ तस्बिर)

सूर्यप्रकाश कँडेल

आइतबार, २० जेठ २०७५, १४ : ०५
सिद्धबाबाको पहिरोले यात्रुलाई सास्ती (हेर्नुहोस् १४ तस्बिर)

सिद्धबाबा (पाल्पा) । चितवनको कृष्णभिर सम्झाउँदै पाल्पाको सिद्धबाबा पहिरोले पोहोर सालजस्तै यसवर्ष पनि यात्रुलाई सास्ती दिन थालेको छ । बुटवलबाट पाल्पाको तानसेनसम्मको ४० किलोमिटर सडकमध्ये सबैभन्दा बढी जोखिमपूर्ण ठाउँ बनेको छ सिद्धबाबा । पाल्पा जिल्ला प्रवेश गरेपछि सुरुमै स्वागत गर्न बसेको सिद्धबाबाले यात्रुलाई सुखद् होइन, दुःखद् स्वागत गर्छ । वर्षा सुरु भएसँगै पहिरोले स्वागत गर्ने सिद्धबाबामा यात्रुले हरेक वर्ष सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।
गएको हप्ता बिहीबार राति राम्रैसँग पानी प¥यो पाल्पा र बुटवलमा । पानी परेपछि सिद्धबाबामा लेदोसहितको पहिरो झर्न सुरु भयो । शुक्रबार बिहानैदेखि बुटवलबाट पाल्पा जाने र पाल्पाबाट बुटवल फर्कने यात्रुहरुले पाउनुसम्म सास्ती पाए सिद्धबाबाको पहिरोको कारण । दुई किलोमिटर परै दुबैतर्फ गाडी रोकिएपछि यात्रुले चार किलोमिटरको दुरी पैदल पार गर्नुप¥यो । लेदोसहितको पहिरो बाटोमा थुप्रिएपछि सडक पूरै रोपाइँको खेतजस्तो हिलाम्मे बन्यो । त्यही हिलोमा गोडा चोपल्दै पैदल यात्रा गर्न विवश भए यात्रुहरु । हातमा झोला र अन्य सामानसँगै जुत्ता झुण्ड्याउँदै उनीहरुले हिलाम्मे बाटो पार गरे । मोटरसाइकल चालकहरुको अवस्था पनि टीठलाग्दो थियो ।
पहिरो पन्छाउन सडक विभागको एक्साभेटर सिद्धबाबामा शुक्रबार नै परिचालन गरिएपनि शनिबार बिहान दस बजेदेखि दिउँसो चार बजेसम्म सडक यातायात बन्द गरेर पहिरो हटाइयो । पहिरो हटाएर यातायात सञ्चालनमा आउँदा पनि शनिबार साँझसम्म सिद्धबाबाको सडक रोपाइँको तयारीमा हिल्याइएको खेतजस्तै थियो । त्यही हिलाम्मे सडक जोखिम मोलेर पार गर्दै थिए मोटरसाइकल चालक र साना चारपाङ्ग्रे सवारीका चालकले । मनसुन सुरु नहुँदै यात्रुलाई दुःख दिन सुरु गरेको सिद्धबाबाको पहिरोले अझै कति दुःख दिने हो ? त्यो विषय मनसुनी वर्षामै निर्भर छ । सामान्य पानी पर्दा गत शुक्रबार र शनिबार यात्रुले नमज्जासँग सास्ती पाए । कोही यात्रु भने हिलाम्मे बाटोको बीचमा पनि सेल्फी लिन मस्त थिए । हेर्नुहोस्, स्थलगत रिपोर्टिङका क्रममा पाल्पाको सिद्धबाबा पुगेर खिचिएका चौध तस्बिर :

 

प्रतिक्रिया दिनुहोस