लाखौँ मूल्य बराबरको सामान बरामद

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १५ : ४९
लाखौँ मूल्य बराबरको सामान बरामद

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौली इलाकाबाट सशस्त्र प्रहरीले करिब ७ लाख ८ हजार रुपैयाँ बराबरको अवैध चिनी बरामद गरेको छ ।

सो ठाउँमा भारतबाट अवैध रूपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी र मातहत युनिटहरूबाट खटिएको सशस्त्र प्रहरीले उल्लेखित मूल्य बराबरको २ सय  ३६ बोरा चिनी बरामद गरेको हो ।यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देव प्रसाद पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले शनिबार (आज) करिब १ लाख ४३ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा विभिन्न सामान बरामद गरेको छ । अवैध रूपले लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ बेलासपुर चोकबाट बरामद गरेको हो ।

त्यसै गरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडास्थित सीमा  इलाकाबाट सुक्रबार सशस्त्र प्रहरीले करिब १ लाख २५ हजार रुपैयाँ  बराबरको चोरी निकासीको २ सय ५० केजी। सुपारी बरामद गरेको छ । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागेको अवस्थामा उक्त सुपारी सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो ।

त्यसबेला सुपारी लैजाँदै गरेका व्यक्ति गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त सुपारी सोही ठाउँमा छाडी फरार भएका थिए ।  बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस