युक्रेन सरकार र सेनाबीच विवाद

एजेन्सी

विहीबार, २३ असार २०७९, १० : ५९
युक्रेन सरकार र सेनाबीच विवाद

काठमाडौँ । पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ । सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गरेको छ । छिमेकको डोनेत्स्क क्षेत्रमा पनि रुसको ४० प्रतिशत कब्जा छ । 

यस्तो स्थिति आएपछि युक्रेन सरकारले आफ्ना नागरिकलाई देशबाहिर जानबाट रोक लगाउन खोजेको छ । उनीहरूलाई जबर्जस्ती सेनामा भर्ती गराउनका लागि यस्तो प्रयास गरिएको हो । तर यसका आवश्यक उपायका बारेमा उसले निर्णय लिन सकेको छैन । 

मंगलवार युक्रेनको संसद् भेर्खोव्ना राडामा एउटा विधेयक पेश गरिएको छ जसले लड्ने उमेरका पुरुषलाई सैन्य कार्यालयको अनुमतिबेगर घर छोडेर हिँड्न मनाही गरेको छ । उता राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले आफ्नो नष्ट भएको छविलाई उकास्न प्रयास गरेका छन् । उनले सेनालाई कुनै पनि नयाँ नियम आफ्नो स्वीकृति विना नलिन भनेका छन् । जेलेन्स्कीको यस्तो निर्देशनले युक्रेनी सेनाको अपमान भएको छ । 

विगत केही महिनायता राष्ट्रपति र सेनाबीचको विवादका खबरहरू आइरहेका छन् । कतिपय मोर्चामा पछि हट्नका लागि सेनाले आवश्यक ठानेको भए पनि राष्ट्रपति कार्यालयले पछि हट्ने कुरा सम्भव नभएको अडान लिँदै आएको छ । फलस्वरूप, युक्रेनी सेनाले अग्रमोर्चाहरूमा भारी क्षति बेहोर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस