पर्सामा वामगठबन्धनको जित शुन्य : आखिर कस्ले रोक्यो वामशक्ति लाई ?

मंगलबार, २६ मंसिर २०७४, १५ : ०७
पर्सामा वामगठबन्धनको जित शुन्य :  आखिर कस्ले रोक्यो वामशक्ति लाई ?

पर्सा,२६ मंसिर । समग्रमा वाम गठबन्धनको अग्रता देखिएका बेला पर्सा जिल्लामा भने बाम गठबन्धन शुन्य अवस्थामा छ ।

कांग्रेसले दुईवटा प्रदेशसभा जित्दा एमाले प्रतिनिधिसभा र प्रदेश सभा दुबैमा शून्य बनेको छ ।

४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्य रहेको पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ सबै स्थानमा फोरम-राजपा गठबन्धन विजयी छन् । ४ मध्ये ३ क्षेत्रमा फोरम नेपाल र १ क्षेत्रमा राजपा विजयी भएका छन् ।

८ वटा प्रदेश सभा सदस्यतर्फ पनि ६ स्थानमा फोरम-राजपा गठबन्धन विजयी भएका छन् भने २ वटा प्रदेशसभा सदस्यमा नेपाली विजयी भएको कांग्रेस छ ।

इतिहास
। १४ स्थानीय तह रहेको पर्सा जिल्लाको स्थानीय तह निर्वाचनमा फोरम नेपालले वीरगञ्ज महानगरपालिका, विन्धवासीनी, पकाहामैनपुर र सखुवा प्रसौनी गाउँपालिका गरी ४ स्थान जितेको थियो । कांग्रेसले पर्सागढी, बहुदरमाईनगरपालिका र धोविनी गरी ३ स्थानीय तहमा जीत दर्ता गराएको थियो ।

एमाले र माओवादी केन्द्रले ५ स्थानीय तहमा जितेका थिए । माओवादी र एमालेले पर्साको ठोरी, जगरनाथपुर र छिपहरमाई, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा जीत दर्ता गराएका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पर्सामा रहेका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटामा एमाले र २ वटा क्षेत्रमा कांग्रेस विजयी भएका थिए । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा तीन वटा क्षेत्रमध्ये कांग्रेस, एमाले र फोरमले एक-एक स्थानमा जित हात पारेका थिए ।

प्रभावशाली नेताहरु पराजित
पर्साबाट कांग्रेस र एमालेका तर्फबाट चुनाव लडेका सबै निवर्तमान सांसद , पूर्वसभासद एवं मन्त्रीहरु पराजित भएका छन् । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका उनीहरुलाई मतदाताले मधेसी दलका उम्मेदवारलाई भन्दा कम दिए ।

प्रतिनिधिसभा सदस्यमा पर्सा क्षेत्र नम्बर १ बाट फोरम नेपालका प्रदीप यादवले पूर्व सभासद नेपाली कांग्रेसका अनिलकुमार रूंगटालार्इ पराजित गरे ।

पर्सा २ बाट उम्मेदवारी दिएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अजय चौरसिया फोरम नेपालका उम्मेदवार विमल श्रीवास्तवसँग पराजित भए ।

कांग्रेसकै पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं निवर्तमान सांसद सुरेन्द्र चौधरी पर्सा क्षेत्र नं ३ मा फोरम नेपालका उम्मेदवार हरि नारायण रौनियारसँग पराजित भए ।

क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका कांग्रेस अनुशासन समितिका संयोजक केन्द्रीय सदस्य एवं पूर्वसभासद रमेश रिजाल पनि पराजित भए । सोही क्षेत्रबाट माओवादी नेतृ उर्मिला अर्याल पनि राजपाका नेता लक्ष्मणलाल कर्णसँग पराजित भइन् ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेकपा एमालेका निर्वतमान सभासद विचारी यादव र राजकुमार गुप्ताका साथै प्रदेशसभा तर्फ उम्मेदवारी दिएका एमालेका निवर्तमान सभासदहरु जयप्रकाश थारु, नागेन्द्र चौधरी र रामचन्द्र साह तेली पनि मधेसी दलका उम्मेदवारसँग पराजित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस