जसपामा विवाद थप चुलियो, बाबुराम भट्टराईले बोलाए छुट्टै बैठक

पत्रपत्रिकाबाट

मंगलबार, २१ असार २०७९, ०७ : ३२
जसपामा विवाद थप चुलियो, बाबुराम भट्टराईले बोलाए छुट्टै बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीचको विवाद चर्किरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गरेसँगै सो दलको आन्तरिक विवाद अझ उत्कर्ष उन्मुख भएको छ।

असार २७ गतेदेखि वीरगन्जमा बस्ने केन्द्रीय समिति बैठकले जसपाको भविष्य निर्धारण हुने आकलन गरिरहेका बेला प्रधानमन्त्री देउवाले अध्यक्ष यावदलाई सहज हुनेगरी तीन मन्त्री हेरफेर गरिदिएपछि भट्टराई थप अप्ठ्यारोमा परेका छन्।

भट्टराई पक्षमा देखिएका केही नेतालाई सरकारमा समेट्दै यादवले मन्त्रिपरिषद् हेरफेरका लागि गरेको अनुरोधलाई देउवाले स्वीकार गर्दै सोमबार तीन नयाँ नेतालाई सरकारमा सहभागी गराएका छन्। यसअघि सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबाहेक अन्यलाई यादवले फिर्ता बोलाएका हुन्। मन्त्री बनाइएका सबै यादवसँग असन्तुष्ट भएर भट्टराई पक्षमा लागेकाहरू हुन्। उनीहरूलाई सरकारमा सहभागी गराएसँगै भट्टराई पक्ष अल्पमतमा परेको निकटस्थहरूको दाबी छ।

भट्टराई पक्षमा सशक्त रूपमा उभिएका महेन्द्र यादवलाई हटाएर उपेन्द्रले मृगेन्द्रसिंह यादवलाई मन्त्री बनाएका छन्। यसैगरी पछिल्लो समय कित्ता परिवर्तन गरी यादवको पक्षमा उभिएका इस्तियाक राई र प्रदीप यादव पनि मन्त्री बनाइएका छन्। स्थानीय तहको चुनावसम्म राई र यादव भट्टराईको पक्षमा सशक्त रूपमा उभिएका थिए।

भट्टराई पक्षले गरेको हस्ताक्षर संकलनपछि यी दुई नेता कित्ता परिवर्तन गरी यादवको पक्षमा पुगेका थिए। ‘मन्त्रीको सूची फेर्दा जसले पार्टी फुटाउँछौं भनी धम्की दिए, अध्यक्ष (उपेन्द्र यादव) ज्यूले तिनै नेताहरूलाई प्राथमिकता दिएको देखियो,’ मन्त्रीमण्डल विस्तारपछि उपेन्द्रनिकट एक कार्यकारिणी सदस्यले भने, ‘सुरुदेखि नै साथ दिएकालाई भने बेवास्ता गरियो।’

आफ्नो पक्ष बलियो बनाउन यादवले आफूनिकट भनिएकाहरूलाई छानीछानी मन्त्रीमा सिफारिस गरे। तर मन्त्रीबाट हटाइएका र मन्त्री हुन नपाएका जसपाका सांसद भने कार्यकारिणी अध्यक्षसँग रुष्ट भएका छन्। यीमध्ये केहीले गुट फेर्नेसमेत धम्की दिएका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस