भरतपुरमा लगत संकलन भएका सम्पुर्ण सुकुम्बासीले पाँच वर्षभित्र लालपुर्जा पाउछन् : रेनु दाहाल

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, ०८ : १६
भरतपुरमा लगत संकलन भएका सम्पुर्ण सुकुम्बासीले पाँच वर्षभित्र लालपुर्जा पाउछन् : रेनु दाहाल

चितवन । भरतपुरमा भूमिहिनलाई जग्गा दिने कामको अवस्थाबारे महानगर प्रमुख रेनु दाहालले चासो दिएकी छिन् । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडामा राष्ट्रिय भूमि आयोग चितवनले गरिरहेको कार्य सम्पादनबारे मेयर दाहालले आयोगका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारी समक्ष चासो राखेकी हुन् । 

आयोगले अहिले गरिरहेको कामबारे आयोगका अध्यक्ष बद्री तिमल्सिनाले उपस्थित जनप्रतिनिधिहरुलाई ब्रिफिङ गर्दै केही स्थानमा काम गर्न असहज भएकाले केही यन्त्र तथा उपकरण उपलब्ध गराउन स्थानीय निकायसँग पहल थालिएको जानकारी दिए । आयोगले अहिले ड्रोन र टोटल स्टेश्नको कमी भएको बताएको छ । यो यन्त्र उपकरण खरिद गर्न आयोगले जिल्लाका ७ वटा स्थानीय निकायसँग बजेटको माग पनि गरेको छ ।

भरतपुर महानगरपालिकाले स्थानीय तहको निर्वाचन अगाडि महानगरभित्र रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको  लगत संकलन, निस्सा दिने काम सम्पन्न गरिसकेको छ । जिल्ला समन्वय समितिको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले संघिय निर्वाचन अघि भूमिहिनलाई लालपुर्जा दिने गरी कार्य अघि बढाउन आयोग र वडा अध्यक्षहरुलाई आग्रह गरिन् । 

निर्वाचन आचारसंहिताका कारण यो काम रोकिन पुगेकाले पहिले जुन गतिमा काम भएको थियो, त्यही गतिमा फेरि काम बढाउनु पर्ने मेयर दाहालको भनाई थियो । निर्वाचनले ब्रेक लागेको भए फेरि निरन्तरता दिई तीब्र गतिमा जग्गा दिने काममा लाग्न मेयर दाहालले सरोकारावालाई अनुरोध गरेकी छिन् । 

‘निर्वाचनमा तपाई हामीले भूमिहिनलाई जग्गा दिने प्रतिवद्धता जनाएका छौ, उनले भनिन्,‘यो काममा हातेमालो गरेर सुकुम्बासीलाई जग्गा दिने काममा केन्द्रीत हुन आग्रह गर्छु । वडा अध्यक्षहरुले आयोगसँग समन्वय गरी आफ्नो बाचा पुरा गर्नुहोस् ।’ मेयर दाहालले विगतमा भरतपुर २ का भूमिहिन दलितलाई लालपुर्जा दिने काम भईसकेको र अब असार मसान्तभित्र भूमिहिन सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने बताईन् ।

पाँच वर्षभित्र भरतपुरमा अहिले लगत संकलन भएका सम्पुर्ण सुकुम्बासीले लालपुर्जा पाउने पनि उनको भनाई थियो । भरतपुर महानगरले संकलन गरेको तथ्याङक अनुसार महानगरभित्र १० हजार बढी सुकुम्बासी रहेका  छन् ।

प्रतिक्रिया दिनुहोस